जबज विरोधी देख्दा हाँस उठ्छ, एकतापछि आलोपालो हुँदैन

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच दुवैजना अध्यक्ष रहने गरी पार्टी एकतामा सहमति भएको सूचना चुहिएपछि एमालेका शीर्ष नेताहरु मंगलबार विहानै बालकोट पुगे । आफूलाई भेट्न आएका ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ लगायतका नेतासँग ओलीले प्रचण्डसँग भएको ‘वान टु वान’ वार्ताको प्रगति बेलीविस्तार लगाए ।ओलीसँग भेटे लगत्तै हामीले एमाले महासचिव ईश्वर पोखरेललाई पछ्यायौं । पार्टी कार्यालय धुम्बाराहीमा महासचिव पोखरेल कुराकानी गर्न राजी भए । यद्यपि उनले ओली-प्रचण्डबीचको सहमति ठोस रुपमा बाहिर ल्याउन चाहेनन् । महासचिव पोखरेलकै भाषामा सम्भवतः पार्टी एकताको सन्दर्भमा ‘केही राँटाहरु मिलाउन’ अझै बाँकी नै छ ।

पार्टी एकता संयोजन समितिका सदस्यसमेत रहेका महासचिव पोखरेलले अनलाइनखबरमार्फत चुनावलगत्तै भनेका थिए – पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति अर्थात केपी ओली नै हुनुपर्छ । पार्टीमा बहुकेन्द्र राख्नुहुँदैन । पोखरेलको यो भनाइलाई माओवादी पंक्ति र एमालेभित्रकै एउटा पंक्तिले पार्टी एकताविरोधी अभिव्यक्तिका रुपमा चित्रित गरे । तर, पोखरेलले यसबारे अहिलेसम्म बोली फेरेका छैनन् ।

एकताको पछिल्लो प्रगतिबारे ओलीसँगको भेटपछि हामीले महासचिव पोखरेलसँग यिनै विषयमा कुराकानी गर्‍यौं ।

पार्टी एकता टुंगिनै लागेको हो कि जस्तो गरेर समाचार आइरहेका छन्,अब कुरा मिलिसकेको हो ?

अखबार र अरु सञ्चारमाध्यममा जुन समाचार आए, ती समाचारलाई सकारात्मक रुपमा लिन सकिन्छ । जति कुरा बाँकी छन्, ती कुरा आएका छैनन् । म ०७४ असोज १७ देखि सबै प्रक्रियामा छु । हामीले असोज १७ गते तालमेल र एकता भन्यौं । सिट बाँडफाँट र घोषणापत्र कार्यदल बनायौं ।

हामीले पछिल्लो अवस्थामा पनि राष्ट्रियसभा र प्रदेशको बाँडफाँटमा पनि कार्यदल बनायौं । यी सबै कार्यदलले राम्रो काम गरेर टुंगो लगाएको अनुभव पनि छ । अहिले पनि हामीले घोषणापत्रमा आधारित रहेर सरकारले शुरुदेखि गर्नुपर्ने काम के हो, त्यसलाई सूत्रबद्ध गर्न अर्को कायदल बनाएका छौं ।

अब हामीले एकताको सन्दर्भमा विचार र संगठनको क्षेत्रमा साझा अवधारणा बनाउन बाँकी छ । विचारको मामिलामा हाम्रो साझा समझदारी हुनुपर्छ । अर्को कुरा, संगठनात्मक व्यवस्थापन मिलाउनुपर्नेछ ।

होइन, हामीले विचार र सिद्धान्तको कुरा होइन,अध्यक्ष पदको कुरा कसरी मिल्दैछ भनेर सोध्न खोजेको हो, त्यो मिलिसकेको होइन र ?

शीर्षतहको नेतृत्वको मात्र कुरा होइन । अहिले चाहिँ अध्यक्ष को हुने भन्ने मात्र कुरा आयो । तर, माथिको पद कसरी जिम्मेवारी व्यवस्थित गर्ने ? निर्णय गर्ने संयन्त्र कस्तो बनाउने ? तल्ला कमिटी कसरी व्यवस्थित गर्ने ? पार्टी सदस्यको विधि के बनाउने ? यसमा छलफल भइरहेको छ ।

यो सबै कामका लागि अन्तरिम विधान बनाउनुपर्नेछ । महाधिवेशनपछि त एउटा विधान आउँछ तर, त्यसअघि पार्टी चलाउने अन्तरिम विधानको कुरा छ ।

माओवादीको ४ हजार सदस्यीय केन्द्रीय कमिटी छ, एमालेको २ सयको छ । त्यो कसरी मिलाउने ? यसमा छलफल हुन बाँकी छ ।

जस्तो- माओवादीको ४ हजार सदस्यीय केन्द्रीय कमिटी छ, एमालेको २ सयको छ । त्यो कसरी मिलाउने ? यसमा छलफल हुन बाँकी छ । विचार र संगठनको मामिलामा हामीले कमन फुटिङ निर्माण गर्नु जरुरी छ ।

फेरि पनि मैले सोध्न खोजेको चाहिँ के भने दुई नेताबीच कुरा मिलेको हो ?

सञ्चारमाध्यमहरुमा आशालाग्दो ढंगले कुराहरु आएका छन् । जनताको भावना एकता होस भन्नेमै छ । त्यसैले यी समाचारलाई हामी सकारात्मक रुपमा लिन्छौं । तर, हाम्रा नेताहरु अहिले पनि ‘वान टु वान’ छलफलमा हुनुहुन्छ । उहाँहरुलाई यो अधिकार पनि कमिटीले नै दिएको हो ।

‘वान टु वान’ भइरहेका कुराहरुमा सकारात्मक प्रगति भएको छ । यो कसैले दिने र लिने कुरा होइन । हामीले एमाले भएर सोच्दैनौं र पुष्पकमल दाहालसहितका माओवादी साथीहरुले पनि अब माओवादी भएर सोच्नुहुँदैन । यो पाए हुन्छ नपाए हुँदैन भन्ने सोचमा अब रहनुहुँदैन । अब त नो मोर एमाले, नो मोर माओवादी अर्थात नयाँ पार्टी बन्ने हो ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद आलोपालो गर्ने सहमति भएको हो ?

आलोपालो भन्ने कुरा पार्टी एकतापछि हुँदैन । पार्टी एकता नहुन्जेल प्रस्तुत गरिने समाधान एउटा हुन्छ । पार्टी एकतापछि नेताहरुको कार्य विभाजन हुन्छ । कुन नेतालाई कुन जिम्मेवारी दिने भन्ने निर्णय हुन्छ त्यो बेला । जब पार्टी एकता गर्दैछौं भने दुवै पार्टीका नेताको जिम्मेवारी पार्टीले तोक्छ ।

अहिले प्रचण्ड पार्टीको एउटा सम्मानित नेता हो, उहाँको उचित व्यवस्थापन हुन्छ । अहिले दुवै अध्यक्षले दिने समाधान हामी सबैलाई स्वीकार्य हुन्छ । पार्टी एक भइसकेपछि आलोपालो भन्ने हुँदैन । एकतापछि कामको बाँडफाँड हुन्छ, तर आलोपालो हुँदैन ।

यसको मतलब केपी ओली पाँच वर्ष पूरै प्रधानमन्त्री बन्ने हो ?

पाँचै वर्ष भन्ने छैन । ५ वर्ष पनि हुनसक्छ, ३ वर्ष पनि हुन सक्छ । त्यो त पार्टीले जिम्मेवारी बाँडफाँट गर्ने कुरा हो ।

हामीले एमाले भएर सोच्दैनौं र पुष्पकमल दाहालसहितका माओवादी साथीहरुले पनि अब माओवादी भएर सोच्नुहुँदैन । यो पाए हुन्छ नपाए हुँदैन भन्ने सोचमा अब रहनुहुँदैन ।

तपाईले चुनाव जितेलगत्तै पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ भन्नुभयो, त्यसले गर्दा तपाईलाई कतिपयले पार्टी एकता बिरोधी पनि भने, अहिले पनि तपाई प्रचण्डलाई अध्यक्ष नदिन ओलीमाथि दबाव पार्ने नेताहरुको नेतृत्व गरिरहनुभएको छ भन्छन्, किन हो ?

कम्युनिस्ट आन्दोलनमा मूलतः हामी दुईवटा अभ्यास गरेर आयौं । एउटा चाहिँ पार्टीमा धेरै नेताहरु हुनुहुन्छ,उहाँहरुलाई जिम्मेवारी दिने र बहुकेन्द्रको अभ्यास गर्ने । अर्को चाहिँ संस्थागत निर्णय गर्ने, नेताहरुको कार्यविभाजन गर्ने तर बहुकेन्द्र नराख्ने, बरु मुख्य नेताको अवधि तोक्ने ।

दुवै अभ्यासका राम्रा र नराम्रा पक्ष छन । तर, मलाई व्यक्तिगत रुपमा चाहिँ कम्युनिस्ट पार्टी चलाउने हो भने मल्टिसेन्टर होइन युनिसेन्टर हुनुपर्छ भन्ने लाग्छ ।

संस्थागत निर्णयको पालना र योग्यता अनुसार सबै नेताहरुको जिम्मेवारी बाँडफाँड हुनुपर्छ, तर बहुकेन्द्र हुनुहुन्न । एमालेभित्र आफ्नै पनि अनुभव छन् ।

तर, अहिले एमाले र माओवादी बीचमा एकताको कुरा गरिरहँदा नयाँ ढंगले पनि जान सक्छौं । अध्यक्ष मण्डल, को-चेयरमेनसिपको कुरामा पनि छलफल भइरहेको छ । हामी दुवैखाले मोडलको छलफलमा छौं ।

अध्यक्ष केपी ओलीसँग तपाईहरुले छलफल पनि गर्नुभयो, तत्कालै आजभोलि नै पार्टी एकताबारे कुनै न कुनै सन्देश आउला ?

उहाँले प्रचण्डसँग भइरहेका कुराकानीको बारेमा हामीलाई ब्रिफ गर्नुभयो । हामीले आफ्ना कुरा राखेका छौं । एकता आवश्यक छ, तर कम्युनिस्ट पार्टीबीचको एकता भनेको बिचार र संगठात्मक कुरालाई टुंग्याउनुपर्छ । अहिले गरिहालौं, अरु कुरा पछि मिलाउँला भनेर एकता गर्नु हुँदैन । भावनात्मक कुरा गरेमात्र हुँदैन ।

दुवैजना अध्यक्ष रहने कुरा भएको हो ?

अध्यक्ष स्तरमा कुरा भइरहेको छ । अध्यक्ष भइसकेपछि पार्टीको प्रमुख नेता हुन्छ । पार्टीको प्रमुख दुईजना भनेपछि कसको हस्ताक्षरबाट चलाउने ? आधिकारिक को हो ? पत्राचारकै कुरा आउँछ ।

हरेक बैठकपिच्छे अलग-अलग अध्यक्षता गर्छौं भन्दा भोलि वैधानिकताको कुरा पनि आउँछ । व्यवहारिक पाटोबाट पनि हेर्नुपर्छ भनेका छौं ।

पार्टी एक भइसकेपछि आलोपालो भन्ने हुँदैन । एकतापछि कामको बाँडफाँट हुन्छ, तर आलोपालो हुँदैन ।

एमालेभित्रैबाट प्रचण्डलाई अध्यक्ष दिएर भने पनि एक्ता गरिहालौं भन्ने हुटहुटी पनि आइरहेको छ नि ?

एमालेभित्र अनौपचारिक रुपमा कसले कहाँ बोल्नुहुन्छ थाहा छैन । तर पार्टीमा प्रचण्डलाई अध्यक्ष दिनुपर्छ भन्नेमा कसैले भनेको छैन । एकता हुनुपर्छ भन्नेबाहेक पद दिने र लिने कुरा भएको छैन ।

एउटा कुरा बताउनुस् कि,पार्टी एकताको औपचारिक घोषणा कहिले हुन्छ ? सरकार गठनअघि केही आउँदैन ?

यो चाहिँ दुवै पार्टीका अध्यक्षहरुले गर्नुभएको संवाद र निकाल्नुभएको निश्कर्षमा भर पर्छ । उहाँहरुबीच संवाद र छलफल जारी नै छ । सरकार गठन र पार्टी एकता फरक कुरा हुन् । पार्टी एकता गर्छौं भनेर हामीले मेसेज गरिसकेका छौं । पार्टी एकता संयोजन समिति बैठकमा उहाँहरुले आफ्नो कुरा राख्नुहोला ।

पार्टी एकता आवेगमा होइन, प्रक्रिया अनुसार हुने कुरा हो । एकताका सन्र्भमा स्टेप-स्टेप मिलाएर आएका छौं अहिलेसम्म । घोषणापत्र एउटा स्टेप थियो, सिट बाँडफाँट अर्को स्टेप थियो, चुनाव जित्यौं । निकै कठिन प्रक्रिया हामीले पार गर्दै आयौं । राष्ट्रियसभा र प्रदेश सरकारको बाँडफाँट मिलायौं । अब पनि यस्तै ‘स्टेपवाइज’ एकता हुने हो ।

नेतृत्वको सन्दर्भमा अझै दुई नेताबीच मन मिल्न बाँकी देखियो होइन त ?

मूल कुरो, उहाँहरु दुईजना अध्यक्षको कुरा कस्तो निश्कर्षमा पुग्छ, त्यसमा भर पर्छ । अध्यक्ष मण्डलको हिसाबले पनि जान सक्छ । को- चेयरमेनशिपको हिसाबले पनि जान सकछ । निश्चित अवधि तोकेर अध्यक्ष हुने कुरा पनि आन्तरिक समझदारी हुन सक्छ ।

जबज त क्रान्ति सम्पन्न भइसकेपछि समाजवादी शासन प्रणालीमा पनि लागु हुने विचार हो ।

उहाँहरुले निकाल्ने निश्कर्ष हामीलाई मञ्जुर छ भन्ने म्याण्डेट दिइसकेका छौं ।

नेताको व्यवस्थापनपछि अब तलका कमिटीहरुको एकता चाहिँ कसरी हुन्छ ? ७०/३० को अनुपातमै कमिटीहरु बन्ने हुन् ?

हामीले धेरै पक्षलाई राखेर टुंग्याउनुपर्छ । जनताले दिएको मतलाई ख्याल गर्नुपर्छ । एउटा आधार त जनमत नै हो । योग्यता, क्षमता, पृष्ठभूमि र व्यक्तिको इतिहास पनि हेर्नुपर्छ । हामीले हिजो पनि ठ्याक्कै ६०/४० गरेको होइन । पछि पनि कहीँ ७०/३० भयो, कतै ६५/३५ पनि भयो ।

मैले अहिले नै मलाई लागेको कुरा भन्दा र समाचार सम्प्रेषण गर्दा त रमाइलो होला, तर म जुन ठाउँमा छु, त्यहाँबाट मैले आफ्नो बुझाइ सार्वजनिक गर्न मिल्दैन । मूल नेतृत्वको कुरा दुई अध्यक्षले टुंग्याउनुहुन्छ, संगठनात्मक एकताका लागि कार्यदल बनाएर टुंग्याइन्छ ।

तपाईले अस्ति एउटा भाषणमा विचार र संगठनका राँटा मिलाउन बाँकी छन् भन्दै हुनुहुन्थ्यो, संगठनको कुरा त भन्नुभयो, अब विचारको राँटो चाहिँ के हुँदैछ ?

हामीले विचारको कमन फुटिङ बनाउनैपर्छ । व्यवहारमा निश्चित बिन्दूमा टेकिसकेको भए पनि सिद्धान्तमा त्यो व्यक्त हुनुपर्छ । हामीले जनताको बहुदलीय जनवाद भनिरहँदा एमाले पार्टी विशेषको पेवा होइन । नेपालको विशिष्ठतामा मार्क्सवाद लेनिनवादको अभ्यास गर्दा विकसित भएको मार्क्स हो जबज भन्छौं हामी ।

माओवादीले भनेको एक्काइसौं शताब्दीको जनवाद पनि हिंसात्मक विद्रोहको कालखण्डबाट संक्रमणको स्टेप जस्तो लाग्छ मलाई । त्यस हिसाबले त्यो सकारात्मक छ । हामीले जबजको कुरा गर्दा एकाएक एमालेले ल्याएको हो । नेपालको कम्युनिस्ट आन्दोलनमा शुरुवातदेखि यसमा रहेका विचारका भ्रूणहरु विकसित हुँदै जबज भन्ने ठाउँमा पुगेका हो ।

अध्यक्ष मण्डलको हिसाबले पनि जान सक्छ । को- चेयरमेनसिपको हिसाबले पनि जान सक्छ । निश्चित अवधि तोकेर अध्यक्ष हुने कुरा पनि आन्तरिक समझदारी हुन सक्छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट प्राप्त भएका सकारात्मक र नकारात्मक अनुभवको निश्कर्ष यसको दोस्रो स्रोत हो । तेस्रो चाहिँ यसको दार्शनिक र सैद्धान्तिक पक्ष पनि छ । त्यो के भने द्वन्द्व सर्वत्र छ, त्यो प्रकृतिमा छ, मानव समाजमा छ, राजनीतिमा पनि छ । सबै ठाउँका द्वन्द्वलाई विधिसम्मत ढंगले प्रकट हुन दिएन भने त्यसले विष्फोटक रुपमा लिन्छ ।

राजनीतिमा देखिने द्वन्द्वलाई पनि विधिसम्मत ढंगले प्रकट हुन दिनुपर्छ भन्ने कुरा जजबले भन्छ । आज हामीले यसको वकालत गरे पनि यो कुनै वास्तवमा नेपालको कम्युनिस्ट आन्दोललनको महत्वपूर्ण बैचारिक निश्कर्ष हो, एमालेको मात्र सिद्धान्त होइन ।

जबज भनेको एमालेको मात्र पेवा विषय हो र त्यसलाई स्वीकार गर्दा एमाले मातहत गएको भन्ने हुन्छ कि भन्ने लाग्छ भने त्यो गलत हो । बरु त्यसको प्रस्तुतिमा, हाम्रो भाषागत सन्दर्भमा केही आपत्ति छ भने छलफल गर्न सकिन्छ । आजको नेपालको कम्युनिस्ट आन्दोलनको यथार्थमा एमाले जबजको प्रवक्ता हो, तर व्यवहारमा हामी सबै त्यही दिशामा आएका छौं ।

जबज कुनै कार्यनीतिक कुरामात्र होइन । अहिलेजस्तो पूँजीवादी क्रान्ति सकियो, समाजवादी क्रान्ति कार्यक्रम लागू गर्ने बेला भन्ने भन्ने सुन्छु । मलाई त हाँस उठ्छ । चीनजस्तो मुलुक, जहाँ त्यस्तो संरचना निर्माण गरेर क्रान्तिको यतिपछि पनि समाजवादको प्रारम्भिक चरणमा प्रवेश गरेका छौं भन्दैछन् ।

हामीतिर चाहिँ क्रान्तिको कारण सकियो, समाजवादी कार्यक्रम लागु गर्छौ भन्ने कुरालाई के भन्ने ? अचम्म लाग्छ । जबज त क्रान्ति सम्पन्न भइसकेपछि समाजवादी शासन प्रणालीमा पनि लागु हुने विचार हो ।

हामीले जनताको बहुदलीय जनवाद भनिरहँदा एमाले पार्टी विशेषको पेवा होइन । नेपालको विशिष्ठतामा मार्क्सवाद लेनिनवादको अभ्यास गर्दा विकसित भएको मार्क्सवाद हो जबज भन्छौं हामी ।

तर, जबजको चरण सकियो भन्ने बहस त एमालेबाटै शुरु भयो नि ? अब यसको च्याप्टर क्लोज भयो भन्ने कुरा पार्टीकै नेताहरुले भनेका होइनन् र ?

जबजको च्याप्टर क्लोज होइन, च्याप्टर त झन् ओपन हुन्छ । हाम्रो विचार हाम्रो कार्यक्रम के हो त यतिबेला ? कि समाजवादी कार्यक्रम हो ? हामीले कार्यक्रमको नामकरण गर्नुपर्‍यो नि । हाम्रो बिचार र कामलाई मार्गदर्शन गर्ने सिद्धान्त चाहियो नि । रिक्ततामा पार्टी एकता हुँदैन ।

कुन विचारबाट निर्देशित हुन्छ ? पार्टी एकीकृत हुँदा कुनै विचारबाट निर्देशित त हुन्छ । नामाकरणमा आग्रह राख्नुपर्दैन । जबज भन्ने कूरा एउटा सूत्रबद्ध भएको सिद्धान्त हो ।

पार्टी एकताका सन्दर्भमा हामी एक्काइसौं शताव्दी जनवाद भन्ने माओवादी केन्द्रको बिचारमा भएका कुरामा पनि छलफल गर्न सक्छौं । जबज र एक्काइसौं शताव्दीको जनवादका सन्दर्भमा कन्टेन्टमा के-के राख्ने उल्लेख गरौं, त्यो कन्टेन्टलाई बोक्ने नाम के हुन्छ भन्नेमा हामी पुगौंला नि ।

त्यसैले बाहिर बहस छलफल के हुन्छ अलग हो, एमालेभित्र जबजको बारेमा औपचारिक र संस्थागत ढंगले कुनै बहस छैन । जबजको प्रसंग सकियो भनेर नयाँ सिद्धान्त निर्माण गरौं भनेर पार्टीमा कसैले कुरा उठाएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार