पर्यटक पर्खदै गुरिल्ला मार्ग

रुकुमको सिस्ने गाउँपालिका वडा नं. ५ मा रहेको कमल ताल , फोटो : कुलदिप न्यौपाने

दश वर्षे युद्धकालीन समयका कैयन तिता मिठा छाप, हिंउमा लपेटिएको चम्किलो धौलागिरी हिमालका मनमोहक दृष्य, ढोरपाटन शिकार आरक्षण क्षेत्रका हरिया फाँटहरु लगायतका धार्मीक, पर्यटकीय, पर्यावरणीय सौन्दर्य बोकेर गुरिल्ला मार्ग पर्यटक पर्खिरहेको छ ।

सो ट्रयाकमा कैयन चोटी आफना छापामारको लस्कर हिँडालेका तत्कालिन माओबादी सेनाका कमाण्डर नन्द किशोर पुनः हाल नेपालको उपराष्ट्रपति छन भने प्रचण्ड पटक पटक प्रधानमन्त्री भएका छन । सोही बाटोमा आफनो भूमिगत जीवन डो¥याएका अन्य माओबादी नेता पनि देशको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन । । तर आवश्यक व्यवस्थापन र प्रचारप्रसार अभावमा आफनो क्षमताले थेग्न सक्ने भन्दा निक्कै कम पर्यटक यो मार्गमा ओहोरदोहोर गरिरहेका छन ।

लामो समय सशस्त्र द्वन्द्वले थिलथिलो बनेका रोल्पा, रुकुम, बाग्लुङका जिल्लाहरुलाई शान्तिसंग जोडने र द्धन्द्धको अध्ययन अवलोकन गर्न चाहनेहरुलाई सो ट्रयाक एउट जिवन्त पुस्तकालयका रुपमा रहने अपेक्षा गरिएको थियो । ट्रेकमा तत्कालीन माओवादीले द्वन्द्वकालमा निर्माण गरिएका आधार इलाकाहरू, द्वन्द्वका अवशेषहरू तथा यहॉका पर्यटकीय स्थलहरू आकर्षणका रmपमा रहेका छन ।

यस्तै यो मार्गमा ढोरपाटन सिकार आरक्षण सहितका पर्यटकीय र धार्मिक स्थलहरूलाई समेत समेटिएको छ । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्टस एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डले तत्कालिन रुकुम र रोल्पाका जिल्ला विकास समितिहरुको सहकार्यमा २०१२ मा गुरिल्ला मार्गको रेखाँकन गरिएको थियो ।

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न भन्दै गुरिल्लामार्ग रेखाँकन भएपनि अझै यस क्षेत्रमा पर्यटनको व्यवसायीकरण भने हुन सकेको छैन । करिब ४ वर्ष गुरिल्लामार्गको बिस्तृत अध्ययन गरि रेखाँकन भएपनि सरकारी उदाशिनताले व्यवसायीकरण हुन नसकेको पर्यटन विज्ञहरुले बताएका छन् । पैदलमार्गको माध्यमबाट ग्रामीण क्षेत्रको आर्थिक विकास गर्नका लागि पनि नयाँ रुट निर्धारण भएको थियो । मध्यपश्चिमा नयाँ पैदल मार्गको प्रवद्र्धन गरि पर्यटक भित्र्याउने सरकारी योजना तुहिँदा गुरिल्लामार्ग ओझेलमा पर्दै गएको हो ।

गुरिल्लामार्ग पैदलमार्गको नयाँ विकल्प भएको टानका तत्कालीन महासचिव रमेश धमलाले बताए । ‘नेपालमा सबैभन्दा बढी प्रयोग गरिने अन्नापूर्ण ट्रयाक जस्तै गुरिल्ला मार्गले कैयन सम्भावना बोकेको छ । यहाँ त झन गुरिल्ला मार्गका सौन्दर्य संगै द्धन्दकालीन समयका एैतिहासीक विशेषता छन’ उनले भने ‘ पदमार्ग सम्बन्धी सरकारले विशेष ध्यान दिन सके निजी क्षेत्रले लगानी गर्न तयार छ । भmट्ट सुन्दा राजनैतिक गन्तव्यको मार्ग जस्तो सुनिएपनि गुरिल्ला मार्गले आफनै एैतिहासीक विशेषता र पर्यटकीय सौन्दर्य बोकिरहेको छ ।’

रुकुम (पूर्व) को लुकम गाउँ, फोटो : कुलदिप न्यौपाने

पर्यटकिय सौन्दर्य र युद्धकालिन ईतिहास

जिल्ला पर्यटन विकास समिति रोल्पाका अनुसार गुरिल्ला ट्रेकमा तीनवटा रुट छन । पहिलो रुट १९ दिनको, दोस्रो १४ दिन र तेस्रो २७ दिनको छ । यी रुट पोखराबाट सुरु भई रोल्पाको सुलिचौर र रुकुमको मुसिकोट पुगेर सकिन्छन । यी रुटमा बेनी, ढोरपाटन, थबाङ, स्यार्पु दह, मुसिकोट, रुकुमकोट, सुकुलबाङ, जेलबाङ, खारा, मैकोट, पेल्मा, लुकुम, बााफिकोट लगायत ऐतिहासीक स्थान समेटिएका छन ।

माओवादी र सरकारी पक्षको आक्रमणबाट स्मरणीय बनेका अवशेषहरूसमेत गुरिल्ला ट्रयाकमा आकर्षणको केन्द«का रुपमा रहेका छन । यो रुटमा पर्ने एउटा खण्ड रुकुम र सल्यानको सिमाना बजार खौला, खारा बस्ती , डल्सिंगे , मनोरम घना जंगल, चुनबाङ, थबाङ, महत, रुकुमकोट, मुसिकोट पर्यटकको रोजाइमा छ । यस्तै ढोरपाटन सिकार आरक्षण हँुदै तकसेरा, तकसेराबाट रुकुमको स्यार्पुदह मुसिकोटको खारा रुटसमेत प्रयोग गर्न सक्छन ।

द्वन्द्वमा तत्कालीन माओवादीले आफ्ना विभिन्न भूमिगत गतिविधि सञ्चालन गरेका विभिन्न स्थानहरूलाई मध्यनजर गरेर गुरिल्ला ट्रेकको रेखाँकन गरिएको छ । सशस्त्र द्वन्द्वको सुरुआतमा पहिलोपटक माओवादीले एकै दिन आक्रमण गरिएका प्रहरी चौकीहरू रोल्पाको होलेरी र रुकुमको आठबीसकोट पनि यो रुटमा पर्दछन ।

करिब चार दर्जनभन्दा बढी पर्यटकीय महत्वका क्षेत्रहरूले यो रुटलाई थप मनमोहक बनाएको छ । ग्रामीण बस्तीहरूको अवलोकन र स्थानीय स्वादहरूका लागि समेत यो क्षेत्र फरक मानिएको छ ।

गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीहरूले प्रयोग गर्ने मुख्य रुटहरू भएको बताइन्छ । यो रुटमा सानाठूला तालहरू, नदी तथा खोलाहरू, मन्दिरहरू, झरनाहरूको दृश्यावलोकन गर्न सकिन्छ । रुटको सुन्दर पक्ष के हो भने जहॉबाट पनि धौलागिरी हिमशृङ्खला तथा सिस्ने हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जिल्लाकै सुन्दर पर्यटकीय सम्पदाहरू स्यार्पुताल, कमल ताल, देउरादली गुफा, ढोरपाटन, तकसेरा, कॉडा, काँक्रीलगायतका मगर संस्कृतिका धनी मगर बस्तीहरू, सिस्ने हिमाल, पुथा हिमाललाई नियाल्दै सानोभेरी नदीको तीर हुदै यो यात्रा अगाडि बढ्छ ।

१० वर्षे युद्धकालीन समयको अध्ययनका लागि गुरिल्ला ट्रयाक जिवन्त पुस्तकालय भएको पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्माले बताए । ‘गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्तीहरू छुने भएकाले द्वन्द्वपीडितहरूको वेदना, क्षति भएका भौतिक संरचना अध्ययन गर्न गुरिल्ला ट्रयाक जिवन्त पूस्तकालय हो’ उनले भने ‘यो संगै विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्ध गर्दा हुने असरहरूको बारे शिक्षा समेत दिन्छ ।’

रुटको गाइड बुक अमेरिकी नागरिक एलोन्जो ल्योन्सले तयार पारेका थिए । यसको अर्को विशेषता हो सिजनको समयमा ढोरपाटन सिकार आरक्षमा सिकार खेल्नसमेत सकिने ।

यो मौसममा यहॉको भ्रमण गरिए यार्सागुम्बा पाइने क्षेत्रमा गएर त्यसको मज्जा पनि लिन सकिन्छ । असोज कात्तिकमा ढोरपाटनमा हन्टिङ को मजा उस्तै । चैत वैशाखमा मगर संस्कृतिको अनि विभिन्न मेला पर्वहरू अवलोकन गर्न सकिन्छ । त्यस्तै, विभिन्न समयमा लाग्ने धार्मिक तथा पर्यटकीय मेलाहरू वर्षैभरि भइरहेका हुन्छन यहॉ ।

रोल्पाको ऐतिहासिक स्थल थवांग गाउँ, फोटो : कुलदिप न्यौपाने

यस्ता छन समस्या

गुरिल्ला मार्गको रेखांकन गरिएको ४ वर्ष लामो समय बितीसकदा पनि सरकारले त्यसको विकासका लागी आवश्यक बजेटको व्यवस्थापन गरेको छैन । गुरिल्लामार्ग अन्तर्गत पर्ने ग्रामीण क्षेत्रमा होमस्टे संचालन गर्ने, सांस्कृतिक प्रवद्र्धन गर्ने, र आवस्यक पूर्वाधारमा लगानी गर्ने लगायतका कार्य अझै हुन सकेका छैनन् । रुकुम तकसेरा, रुकुमकोट बाफीकोट, महत, रोल्पाको थबाङ र जेलबाङ लगायतका गाँउमा होमस्टे संचालन गर्ने कार्य प्रस्ताव भएका थिए । तर त्यस क्षेत्रमा होमस्टेको विकास गर्न सकिएको छैन ।

जसअकारण हस्पिटालिटीको अभावमा पर्यटकहरुलाई असहज हुने गरेको छ । पश्चिम नेपालमा नयाँ पैदलमार्गको प्रवद्र्धन प्रचारमा क्रियाशिल हिमआरोही मानबहादुर खत्रीका अनुसार यस क्षेत्र प्रकृतिको सुन्दरताले वैभवपूर्ण भएतापनि व्यवस्थापकीय कार्य भने फितलो रहेको छ । ‘गुरिल्लामार्ग यस क्षेत्रको पर्यटन पर्वद्धनका लागी गतिलो आधार भएपनि सरकारी तहबाट यस्को ठोसरुपमा योजना आउन सकेको छैन ’ उनले भने ‘ रुटको विकासका लागी सरकारी तह बाट नै आवश्यक बजेट र ठोस योजना ल्याइनुपर्छ ।

यस्तै पछिल्लो समय सडक संजाल विस्तार गर्ने नाँउमा रेखाँकन मार्ग मासिदै गएको स्थानिय हरु बताउछन । दीगो विकासको अवधारणा विपरित गरिएका कतियय यस्ता पूर्वाधारले पनि गुरिल्ला मार्गको सौन्दर्यतामा चुनौति थपेका छन । वर्षमा कति पर्यटकले यस क्षेत्रको अध्ययन अवलोकन गर्दछन भन्ने कुनै सरकारी तथ्याँक छैन ।

पर्यटकको आगमन हुने गरेपनि त्यसको अध्यावधिक नहुनाले योजना निर्माणमा प्रभाव परेको पर्यटन व्यवसायीहरु बताउछन । मध्यपहाडी लोकमार्ग , राप्ती लोकमार्ग, त्रिदेशी प्रस्तावित पर्यटन मार्ग लगायतका सडकसंग सो ट्रयाक जोडिएपनि ति सडक पर्यटनमैत्री हुन सकेका छैनन् । यसका साथै यसको आसपास क्षेत्रमा प्रत्येक वर्ष मेला महोत्सव जस्ता कार्यक्रम त हुने गरेका छन् तर ती कार्यक्रमको अर्थपूर्ण प्रभाव नपरेको पर्यटन व्यवसायीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार