देवीले गाउँ नै मासिन्छ भनेपछि सवै गाउँले विस्थापित

गुल्मी-२०७१ सालमा मदाने गाउँपालिका वडा नम्बर–२, साविकको बाँझकटेरी १, शुभे गाउँका ६३ वर्षीय मनबहादुर परियारको मृत्यु भयो । त्यसको ३ वर्षपछि २०७४ साल भदौ ६ गते उनका जेठा छोरा रने परियारको ३१ वर्षको उमेरमा मृत्यु भयो ।

घरमा लगातार मृत्यु हुन थालेपछि उनीहरु यसको कारण खोज्न थाले । छिमेकी ब्राह्ण समुदायले पहिला आफूहरूले त्यस टोललाई चोख–निष्ठा राखेको र पछि प्युठानबाट बसाइँ सराइ गरेर आएका दलित समुदायले पाडा–भैँसी काटेर चोखोनिष्ठा भङ्ग गरेकाले यस्तो भएको बताए ।
त्यति मात्रै होइन, ब्राह्मण समुदायले ‘यहाँ मानिस र गाई भैंसी मरेको हुन सक्ने भन्दै माटो हेराउन सुझाव दिए । मृतकका छोरा दीपक परियार लगायत गुल्मी र प्युठानको सिमनाको पटौती भन्ने स्थानमा धामी झाँक्री गर्ने ‘देविनी’ कहाँ माटो लिएर हेराउन गए ।

ती देविनीले माटो हेरिन् र ती दुई जनाको मृत्यु सुरुवात मात्रै भएको, तीन वर्षमा सबैको मृत्यु हुने ठोकुवा गरिन् । यसबाट बच्न उनले बस्ती सार्नुपर्ने बताइन् ।

त्यसपछि दीपक परियार, उनका भाइहरू रमेश, दिलीप, मृतक रने परियारकी श्रीमतीसहितका ६ सन्तान, उनकी आमाको बुढो घरसहित ५ घर त्यतिकै छाडे । अनि छिमेकी जिल्ला प्युठानको अर्घामा बसाइँ सरे ।

गत असोज महिनादेखि बसाइँ सराइ सुरु गरेका उनीहरूले अहिलेसम्म पनि त्यहाँका सरसामान ओसार्दै छन् ।

अर्का रनबहादुर परियार पनि बाँझकटेरीकै भेडिखोर भन्ने स्थानमा बसाइँ सराइ गरे । उन्का कुल ७ वटा घर, गोठ र शौचालयहरू यति बेला भताभुङ्ग छ ।

गत वर्षसम्म हराभरा खेतीपाती हुने उनीहरूका जमिनहरू यति बेला झाडीमा परिणत भएका छन् ।

अहिले त्यहाँ देउमती परियारका परिवारजन एक घर मात्रै बाँकी छन् ।

तर सवै मर्छाँै भन्ने देवी नै मरिसकेको उनीहरु बाताउँछन् । दीपक परियार भन्छन्– ‘हामी सबैलाई तीन वर्षको अन्तरालमा मर्छौं भनेकी देवी नै पहिल्यै मरिसकिन भन्ने थाह पायौँ । उनको कुरा नसुनेको भए त्यस्ता घर गोठ र जमिनहरू छाड्न नपर्ने रहेनछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार