नव नियुक्त मन्त्री सहित सबैलाई नमुना बन्ने गरी काम गर्न निर्देशन ।

काठमाडौ : नव नियुक्ती मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्।

बिहीबार साँझ ६ बजे बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन्।

‘नमुना बन्ने गरी काम गर्नुस्। मलाई आशा छ राम्रो गर्नुहुन्छ भन्ने,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नवनियुक्त मन्त्रीले भने। बुधबार प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि आज पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

आजको बैठकमा प्रधानमन्त्रीले प्रभावकारी हिसाबले देखिने गरेर काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका थिए।
पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक विवादका बारेमा पनि बिफ्रिङ गरेका प्रधानमन्त्री ओलीले बाहिरी राजनीतिक विवादबाट मन्त्रिपरिषद् मुक्त रहेको प्रष्ट्याएका थिए।

प्रधानमन्त्री ओलीले बुधबार रिक्त रहेका तीनवटा मन्त्रालयमा मन्त्री हेरफेर गरेका थिए। नेकपाका महासचिव विष्णु पौडेललाई अर्थ मन्त्री, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्री र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका थिए।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिला श्रेष्ठलाई दिइएको छ। उपप्रधानमन्त्री रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रालय बाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएको छ।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आफू मातहत नै राखेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार