मृत्युपत्रमा हस्ताक्षर गर्दै महासमरमा हिंडेको दिन (भाग दुई)

 

साम्यवादी सपना समानताका कल्पनाहरू । सामन्तवाद-साम्राज्यवाद बिरोधि दरिलो अडान ।

जनयुद्ध सफल पारेरै छाड्ने चट्टानी मक्सवाद । गुरिल्ला बनेरै छाड्ने दृढ निश्चयता । साथीहरूसँगको एक तमासको भलाकुसारी । नयाँ बाटोको नवीन यात्राको खुल्दुली । चुनौतीपूर्ण यात्रा पूरा गर्ने अठोट । जिवनोत्सर्ग गर्न परे पनि हाँसीहाँसी गर्ने बाचा । कमरेडली भावना । एक आपसमा आत्मीयता साट्दै सल्लिपीर सुसाईरहेको जुँगुको उकालो सकिनै लाग्दा बाटामा क. प्रभात र क. प्रतिकसँग भेट भयो । एक आपसमा अभिवादन गरेपछि वहाँहरूले हामीलाई यसरी जानुहोस भनेर बाटो देखाउनु भयो । (वहाँहरू चाहिँ बन्चरे लाल बहादुर थामीको दाइको घरमा भरुवा बन्दुक लिन हिंड्नुभएको रहेछ । त्यतिबेलाको मुख्य हतियार नै भरुवा बन्दुक थियो । लाल बहादुर दाइ पनि माले कालदेखि नै भूमिगत पाल्ने र क्रान्तिलाई सहयोग गर्ने मान्छे हुनुहुँदोरहेछ । त्यसै गरी नरिभूईंको गोपीलाल थामी पनि पहिलेदेखि नै एक नम्बरको कम्युनिस्ट हुनुहुँदोरहेछ । वहाँ कत्ति पनि नडराउने खालको हक्की स्वभावको मान्छे हुनुहुँदोरहेछ । पछि आएर थाहा भयो । यसरी २०४० सालको पिस्कर हत्याकाण्डमा ईली थामी र वीर बहादुर थामीको शहादत पछि नै थामी जातिहरू जुर्मुराएका रहेछन । तर उनीहरूको जिन्दगी जहाँ पनि जहिले पनि जस्ताको तस्तै रहेछ । यसको बारेमा पनि पछि अबस्य चर्चा गर्नेछु । हामी पछिल्लो पुस्ताले पनि यहीँबाट क्रान्तिको ठूलो पाठ सिक्यौं । हाम्रो जिन्दगीमा अरु उपलब्धि नभए पनि समाजलाई बुझ्ने मौका भने पायौं ।) अनि हामी माथि डाँडामा उक्लियौं । डाँडामा पुग्दा दिनलाई मिर्मिरे साँझले छोप्नै लागेको थियो । गौरीशंकरको टोपीमा अलिकति भएको पँहेलो घाम पनि डुब्नै लागेको थियो । तल तामाकोसी आफ्नै रफ्तारमा सुसाउँदै बगिरहेको थियो । हाम्रै गाउँबाट बगेर आउने गुमुखोला पनि दौडिंदै तामाकोसीमा हामफालिरहेको थियो । (कालिन्चोकको फेदीबाट बग्ने खोलाको खास नाम हो भद्रावाती खोला । तर अलि तल आएपछि गुमु गाउँ हुँदै बग्ने भएकोले गुमुखोला भनिएको हो ।) गुमुखोलाले गाउँको याद बोकिल्याएकोले पछाडि फर्केर हेर्दा आफ्नो गाउँ पनि गोधूली सन्ध्यामा सुस्ताईरहेको थियो । यस्तै-यस्तै गाउँहरुको मुहार फेर्ने शपथ खाएर नै यसरी हिंडेको कुरा सोचिरहेंथें । साथीहरू पनि गाउँको यादमा डुबिरहेका थिए । घरको यादमा डुबिरहेका थिए । तर सबैले सम्हालिये आँट गरिरहेका थियौं । खेतका गह्राहरूमा भर्खर धानको बाला पँहेलिन लागेका थिए । मन एक तमासको भईरहेको थियो । फेरि पनि सल्लीपिरको सुसाईले आफ्नो लक्ष्यमा भेट्न निरन्तर हिंड भन्ने दिशानिर्देश गरिरहे झैं लाग्थ्यो । हिंड्दाहिड्दै बाटोमा नथाक्नु भनेर साहस थपिरहे झैं लाग्थ्यो । ढाडस दिईरहे झैं लाग्थ्यो । हामीले पनि थप हौसला बटुल्नुको विकल्प थिएन ।

त्यसपछि डाँडाबाट ओरालो झरियो । ओरालो झर्दाझर्दै तल एउटा ठूलो घर देखियो । रित बहादुर दाइको घर त्यही होला भनेर अनुमान लगायौं । एक आपसमा कुराकानी गर्दै घर नजिकै पुग्यौं । घरको पछाडिपट्टी केराको झ्याङ नजिकै क. प्रकाश भरुवा बन्दुक बोकेर सेन्ट्री बस्नुभएको रहेछ । नभन्दै त्यही घर नै रित बहादुर दाइको घर भएको एकिन भयो । झट्ट सम्झँदा जनमुक्ति सेनाको क्याम्पको याद आयो । यो घर त जनमुक्ति सेनाको क्याम्प पो हो कि झैं लागिरहेको थियो । सेन्ट्रीसँग अभिवादन गरेर दरिलो हात मिलाएपछि फेरि क. सन्तोषसँग भेट भयो । (क.सन्तोष तत्कालीन सिन्धु+दोलखा संयुक्त जिल्लाको सेक्रेटरी हुनुहुन्थ्यो । शिक्षक जागीर छोडेर क्रान्तिमा हिंड्नुभएको रहेछ । वहाँमा त्यतिबेला निकै ठूलो क्रान्तिकारी जोश थियो । प्रशिक्षण दिने कला थियो । वैचारिक नेताको रुपमा चिनिन्थे । हेर्दा सरल तर कडा मिजासको हुनुहुन्थ्यो । वहाँको प्रशिक्षण कलामा हामी निकै मन्त्रमुग्ध हुन्थ्यौं ।) अनि आमासँग पनि भेट भयो । परिवारका सबै सदस्यहरूसँग पनि भेट भयो । आमासँग भेट हुँदा निकै खुशी हुनुभयो । क्रान्तिकारी आमाहरू साँच्चै नै महान हुँदारहेछन भन्ने अनुभूति भयो । (आमाको बारेमा पहिले नै साहसिक कुराहरू सुनेको थिएँ । सामन्तीहरूसँग मुकाविला गरेको । सामन्तीहरूसँगको लडाइँमा जेठो छोरो हिरासतमै बितेको पीडादायीक कुरा सुनाउनु भएको थियो । तर वहाँमा निकै ठूलो आक्रोशाभाव झल्किन्थ्यो । प्रत्यक्ष भेटेपछि क्रमशः कुराहरू थाहा हुँदै गयो ।) अनि बल्ल शुरु भयो क्रान्तिकारी प्रशिक्षण र भलाकुसारी । क. सन्तोषले भूमीगत जीवनको बारेमा छोटोमीठो ब्रीफिङ दिए । हामीले अचम्म मानेर सुनीरह्यौं । मुन्टो हल्लाएर समर्थन जनायौं । त्यतिबेला मुन्टो हल्लाउनुको विकल्प पनि त थिएन । आगामी दिनहरू चुपचाप सहनु बाहेक । तर पनि जस्तोसुकै जोखिम उठाउन तयार भएर हिंडेको मान्छेलाई केही फरक परेन । हामी सबैले बलिदानी भावले ओतप्रोत भएर थप शपथ खायौं । झोला र एकसरो कपडा त हामी आफैंले लगेका थियौं । कुरो आयो हतियारको । हतियारको नाममा मेरो भागमा एउटा सिरुपाते कर्द जत्रो खुकुरी र जिलेटिनलाई कागजले बेरेर सुथरीले बाँधेको बम हात पर्‍यो । त्यो बम आलु बम जस्तो थियो । कसरी पड्काउने भन्ने पनि थाहा थिएन । विस्तारै जानिएला भन्ने सोचियो । बरु भरुवा बन्दुक राम्रोसँग चलाउन आउँथ्यो । त्यतिबेला भरुवा बन्दुक त छापामार कमान्डरले मात्र बोक्दा रहेछन् । अचम्म लागेर आयो । भरुवा बन्दुकको पनि यति महत्त्व हुँदोरहेछ भनेर । जिल्ला सेक्रेटरी र एरिया सेक्रेटरीहरूले बाह्र बोर बन्दुक र ३१५ राइफलजको गोली जाने पिस्तोल बोक्दारहेछन । यी गतिविधिहरू देख्दा अचम्मै लागेर आउँथ्यो । यसरी कहिले युद्ध जितिएला झैं लाग्थ्यो । किनकि म सानै उमेरदेखि जिज्ञासु थिएँ । हरेक कुराको ज्ञान हुनुपर्ने हुटहुटी जाग्थ्यो । नयाँ नयाँ ज्ञान सिक्न मन लाग्थ्यो । हाम्रो टोली मध्यमा क. गगन र क. चिमाल अलि बाठाटाठा देखिन्थे । क. सागर र म त झन सोझा जस्ता देखिने भएकाले पत्याउने कुरै भएन । बेलुकीको खाना खाईसकेर सुत्ने कुरा भयो । सुत्न कहाँ जाने ? भन्दा त गुन्द्री र सिरक बोकेर खनायोको रुख मुनी । त्यो रात खनायोको रुख मुनी सुत्दा कत्ति पनि निद लागेन । झुप्रे भए पनि आफ्नै घर । आफ्नै सुत्ने ओछ्यान । बाबाआमाको माया । भाइबहिनीको यादले निकै सतायो । भाइबहिनी पनि सानासानै थिए । उनीहरूलाई पढाउने जिम्मा पनि जेठोबाठोको हिसाबले मेरै काँधमा आईपरेको थियो । सानोतिनो केही जागीर गरेर भाइबहिनीलाई पढाउँला भन्ने लागेको थियो । नेताहरूले गोबरमा मात्र लोभ नगरेर माउ गाइ नै ल्याएर दुध खाने कुरा गरेका थिए । होला त नि भनेर यी जिम्मेवारी पूरा नगर्दै क्रान्तिको जिम्मेवारी बहन गर्न हिंड्नुपर्‍यो । यस्तै तर्कनाहरूले सतायो । त्यही पनि आधा रातमा पानी परेर बिचल्ली बनायो । सपनाहरू त पछि गएर यसरी नै बिचल्ली हुने होइनन् ? भन्ने कुराले नसताएको होइन । तर गुरिल्ला बन्ने त यसरी नै रहेछ भन्ने आभाष भयो । राति नै फेरि घरमा आएर एकछिन सुतियो । घरमा सुतेको आनन्द नै छुट्टै हुने । तर बाध्यताको चपेटालाई सहनै पर्ने ।

क्रान्तिकारी जीवनको शुरूवात यसरी विषमताका बीचबाट नै भयो । बिहान उज्यालो भएपछि फेरि सामान्य कुराहरू भयो । मेरो झोलामा ‘जन्जीरले बाँधिएका हातहरू’ भन्ने कविता संग्रह थियो । (त्यो कविता संग्रह बलराम तिमिल्सिना लगायतका योद्धाहरूद्वारा जेल बस्दा लेखिएको कविता संग्रह रहेछ । त्यसले पनि निकै उर्जा दियो । जेल क्रान्तिकारीहरूको लागि युद्धको ट्रेन्च त्यतिकै भनिएको होइन रहेछ भन्ने लाग्यो ।) त्यही किताब चाख मानेर पढें । तर गुरिल्ला हुने ईच्छाले उचालिरह्यो । अब गुरिल्ला तालिम कहिलेदेखि होला भन्ने जिज्ञासाले निकै सताईरहेको थियो । गुरिल्ला तालिम त रुखरुखै उड्न सक्ने खालको हुन्छ भन्ने सुनेको थिएँ । त्यस्तो खालको तालीम गर्न म निकै उत्सुक र लालायित थिएँ । खाना खाईसकेपछि क. हिमाल, क. रामजी, क. भीमसेनको टोली पनि आईपुग्यो । त्यसपछि अलि रमाइलो लाग्न थाल्यो । गुरिल्लाहरू त अरु पनि रहेछन् है जस्तो लाग्थ्यो । (बाँडेगाउँको प्रशिक्षणमा भिमसेन र चेतनाको जनवादी बिबाह हुँदा क. चेतनालाई गुरिल्ला स्क्वायडको सदस्य भनेर सम्बोधन गरेको सुनेको थिएँ । त्यति बेला नै मलाई अचम्म लागेको थियो ।) संगठनका जिम्मेवारी लिएका कमरेडहरूबीच केही घन्टा बैठक बस्यो । बैठकमा के के कुरा भयो ? त्यो त हामीलाई थाहा भएन । तर हामीलाई सुत्ने जानकारी चाहिँ आयो । सुत्ने जानकारी त किन आएछ भने भरे राति हिंड्नु पर्ने रहेछ । पालैपालो सेन्ट्रीको व्यबस्था मिलाएर हामी सुत्यौं । भरे राति कता जाने होला भन्ने कौतुहलताले निद्रा भने फिटिक्कै लागेन । कतै कार्वाहीमा जाने हो कि ! गुरिल्ला तालिम गर्न जाने हो ? हृदयमा मनोवादको हूरी निकै जोडतोडले चल्यो । बेलुकीको खाना खाएपछि साँझ पर्नासाथ तयारी हुने खबर आयो । हामी सबैले आ-आफ्नो झोला बोकेर तयार भयौं । जब झमक्कै साँझ पर्‍यो । अनि हाम्रो यात्रा शुरु भयो ।

अन्धकार रातलाई चिर्दै हाम्रो यात्रा निरन्तर अघि बढ्यो । बाटामा टीका थाप्न आफन्तकोमा हिंडेका मान्छेहरू भेटिन्थे । हामी केही नबाली भूत जस्तै चुपचाप हिंडिरहन्थ्यौं । बाटामा फेरि एक हुल जँड्याहासँग झगडा पर्‍यो । पेस्तोल देखाएर मात्र उनीहरू भागे । नभए त्यहीँ ठूलो झडप पर्ने सम्भावना थियो । रात आफ्नै गतिमा सुलुलुलु चिप्लिरहेको थियो । हामी चिप्लिरहेको रातसँगै हिंडिरहेका थियौं । राति हिंड्न बानी नपरेको मान्छे । म हिंड्दाहिंड्दै बाटैभरि निदाउने रहेछु । बाटैभरि सपना देख्ने रहेछु । गमरंग खाल्डोमा परेपछि मात्र ब्युँझिने रहेछु । हौ साहिँला क्रान्तिकारी जीवन त मापाको पो हुँदोरहेछ भन्ने लागिरहेको थियो । तर पनि गुरिल्ला बन्ने आशाले हिंड्नै परेको थियो । रातभर हिंडेपछी उज्यालो हुने बेलामा बल्लतल्ल पवटी एक जना कमरेड (कमलकान्त ओली ) को घरमा पुग्यौं । हुन त उनी किसान संघको जिल्ला अध्यक्ष रहेछन् । संगठित मान्छे नै रहेछन् । जे होस त्यतिबेलाको अप्ठ्यारो घडीमा पार्टी र संगठनलाई बचाएका रहेछन । उनीसँग पनि संगठनको बारेमा केही भलाकुसारी भयो । उनी पनि उर्जाशील मान्छे रहेछन । एकछिन सुतेपछी फेरि उनको खेतमा धान काट्न गईयो । जनदिशा भनेको कुरा त्यसरी लागू हुने रहेछ । जनताको कामहरूमा एकाकार हुने । जनतालाई सघाउने कुरा त बल्ल यहाँ आएर लागू भयो । हुन त पिस्कर हत्याकाण्डपछि अमृतकुमार बोहराहरू हाम्रो गाउँमा आएर आरा काट्ने, बारीमा ढुंगाको गार्‍हो लगाउने काम नगरेका होइनन् । स्वार्थ पूरा भएपछि कता हराए ? केही पत्तो पाईएन । त्यो पनि एक खालको जनदिशा नै थियो । आफूले व्यबहारमा लागू गरेपछि बल्ल थाहा भयो ।

एउटा स्वाँरा खेतको धान काटीसकेपछि घर फर्केर खाना खाएर आराम गरियो । असली क्रान्तिकारी जीवन त बल्ल पो शुरुआत भयो । अनि फेरि बेलुकी साँझ परेपछि उही भूतको यात्रा शुरु भयो । फेरि रातभर हिंडेपछी उज्यालो हुने शंकर लामा (भिमसेन) को घर तत्कालीन घ्याङ सुकाठोकर गा.वि.स. को मुकुनेमा पुगियो । त्यहाँ पुगेपछि बल्ल सन्तोषको स्वास फेरियो । किनकि त्यो ठाउँ त्यतिबेला आधार ईलाका जस्तै रहेछ । जे जे गरे पनि खुल्लमखुला गर्न पाईने रहेछ । जनताहरू पनि ईमान्दार र क्रान्तिकारी रहेछन् । त्यहाँ केही दिन बस्दै क्रान्तिका थप योजनाहरूमा लाग्यौं ।

२१ अक्टोबर २०२०, पराईभूमी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार