प्रदेश नम्बर २ का प्रमुख तिलक परियारको बर्खास्तीको नेपाली काङ्ग्रेसको विरोध

काठमाडौं / नेपाली काङ्ग्रेसले प्रदेश नम्बर २ का प्रमुख तिलक परियारको बर्खास्तीको विरोध गरेको छ।सरकारले शुक्रबार परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरेको थियो।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो। आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ।’                                             

निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको छ विज्ञप्तिमा उल्लेख छ।

काङ्ग्रेसले संसद् विघटनको असंवैधानिक कदमपछि कामचलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति गर्न नमिल्ने बताएको छ। विज्ञप्तिमा स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिइएको छ।

विज्ञप्ति:

फागुन ७, २०७७

प्रदेश प्रमुख बर्खास्त र नियुक्तिको विरोध ।

सरकारको सिफारिसमा २ नं. प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ ।

अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।

संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न । अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा

प्रवक्ता एवं प्रमुख

सूचना, संचार तथा प्रचार विभाग

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार