राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

क्रान्तिकारी योद्धा कमरेड पासाङलाई सम्झँदा 

चुन बहादुर थामी ‘जनक’

संस्मरण:
अलिकति विगत तिर फर्कंदा अनौठो लाग्छ  र सपना जस्तो पनि । किनकी २०३६ सालमा जनमत संग्रह हुँदा हाम्रो दाजुभाइ खलक मध्य मैले मात्रै बहुदलको पक्षमा मतदान गरेको थिएँ । हुन त निर्दलमा भोट हाल्नुपर्छ भन्ने उर्दी लगाएका थिए तत्कालीन पन्चहरूले । मैले ती पन्चहरूको वास्ता नगरी बहुदलको पक्षमा मतदान गरेको र मनमा एकतमासको खुशी छाएको आजै जस्तो लाग्छ । त्यसपछि देशैभर ने.क.पा. माले ले भूमिगत रूपमा व्यापक संगठन विस्तार गर्ने क्रममा कम्युनिस्ट पार्टीको सदस्यता लिंदा जिन्दगीमा अर्को आनन्द छाएको थियो । अनि २०४० साल माघे संक्रान्तिको दिन भएको पिस्कर हत्याकाण्डपछि तत्कालीन भूमिगत नेताहरू अमृत बोहरा, माधव पौडेल, मीरा थामी, केशव बडाल लगायत धेरै नेताहरूसँग जनताको लागि भनेर दिनरात काम गर्दा अर्को खुशी छाएको थियो । र २०४२ सालमा निको थामी सेवा समिति भन्ने जातीय संगठन पनि हाम्रै लापिलाङ (कुराथली) मा गठन गरेका थियौं ।

त्यतिबेला पनि मनमा निकै आनन्द छाएको थियो । हामी सर्वहारावर्गको मुक्तिको असली बाटोमा हिंडेको आभाष भईरहेको थियो । यसरी जीवनसंगिनी पम्फा थामी र म भूमिगत रूपमा लामो समय पार्टीको काम गर्‍यौं । आठ वर्षसम्म भूमिगत नेताको पछि लाग्यौं । र २०४६ सालमा बहुदल आयो । त्यसपछि पनि पार्टीकै काममा तल्लीन भयौं । तर पनि हाम्रो जिन्दगीमा सुखको आभाष भएन । हृदयमा एक प्रकारको विद्रोही भाव जागिरह्यो । फलस्वरूप चरिकोट सदरमुकाम सडक डिभिजन कार्यालयमा रहेको ४२ हजार थान डिटोनेटर कब्जा भएपछि  तत्कालीन ने.क.पा. (माओवादी) का नेता क. गंगा कार्की र क. रित बहादुर खड्कासँग सम्पर्क भयो । र जनक्रान्तिको बाटोमा लाग्ने कसम खाइयो । यो दोस्रो पटकको खुशीको पल थियो । जनक्रान्तिमा सपरिवार नै होमिए पछिका कहाली लाग्दा असंख्य क्षणहरू छन । आगामी दिनहरूमा सविस्तार चर्चा गर्दै जानेछु ।

यसरी वर्गसंघर्षको दावानलमा होमिंदा धेरै धेरै कमरेडहरुसँग चिनजान र सहकार्य भयो । धेरै जिल्लाका कमरेडहरूसँग राजनीतिक, सांगठनिक र फौजी मोर्चाहरूमा पनि सहकार्य भयो ।  हुन त तत्कालीन ने.क.पा. (मा-ले) भूमिगत रुपमा संगठन विस्तार गर्दा पनि धेरै ठाउँमा पुगियो । जिरी, माली, श्यामा, गर्जाङ चुचुरे, बाम्ती भन्डार र सोलुसम्म  पुगियो । व्यापक रुपमा संगठन विस्तार गरियो । तर क्रान्तिको भरपर्दो आधार किल्ला तिनै माली श्यामाका शेर्पा बस्तीहरू थिए । क्रान्तिलाई असाध्यै माया गर्ने जनताहरू थिए । तत्कालीन भूमिगत कम्युनिस्ट नेता वाङ्छे शेर्पासँग धेरै पटक ती बस्तीहरूमा संगठन बनाउने क्रममा हिंडेको सम्झना अहिले जस्तै लाग्छ । तत्कालीन अवस्थामा वाङ्छे शेर्पा पनि सर्वहारावर्गको पक्षमा आवाज उठाउने इमानदार नेता थिए । हक्की स्वभावका वाङ्छे शेर्पा पछि सांसद पनि भए । जनताको विश्वास जित्ने कला भएका वाङ्छे शेर्पा जनतामा निकै स्थापित नेता थिए । त्यसैले त क्रान्तिप्रति समर्पित र ईमान्दार जाति पनि तिनै शेर्पा जाति थिए । ती शेर्पा बस्तीहरूमा संगठन बनाएको याद झल्झली आँखामा आउँछ । जसरी भए पनि पार्टीलाई लेबी तिरेको र सहयोग जुटाएको कुरा आँखामै आउँछ । पुर्ख्यौली पेशा जस्तै व्यापार, पर्यटन र हिमआरोहण गरेर विश्वमा कीर्तिमानी राख्ने शेर्पा जातिले जनयुद्धमा पनि आफ्नो जिन्दगी क्रान्तिको बलीवेदीमा चढाएर कीर्तिमानी राखेका थिए । तिनै कीर्तिमानी महान सहिद क. पासाङ्को बारेमा अमूल्य  सम्झनाहरू अभिव्यक्त गर्न गईरहेको छु ।

क्रान्तिकारी सिद्धान्त र विचारले लैस भएका क. पासाङसँग चिनजान भएको जनक्रान्तिकै दौरानमा हो । २०५७ साल चैत १९ गते राति जनमुक्ति सेनाको अस्थायी कम्पनीले दोलखा जिल्लाको मैनापोखरी इलाका प्रहरी चौकीमाथि भीषण हमला गर्दा म पनि संभावित नाकामा एम्बुस कुर्न गएको थिएँ । किनकि मुख्य मोर्चा सफल पार्न सहायक मोर्चा पनि खोल्नु पर्ने बाध्यता हुन्थ्यो । यो पनि एउटा गुरिल्ला ट्यक्टिस थियो । चौकी पूर्ण रूपमा कब्जा नभए पनि दुश्मनको बलियो किल्लाबन्दी तोड्न जनमुक्ति सेना सफल भएको थियो । किनकि त्यहाँको दुश्मन त्यतिबेलाको अवस्थामा बलियो किल्लाबन्दी गरेर बसेको थियो ।

त्यहाँको फोर्टिफिकेशन जिरीको सेना आएर बनाईदिएको थियो । त्यो कठिन लडाइँमा क. पासाङ एसाल्ट ग्रुपमा रहेर बहादुरितापूर्वक लडेका थिए । निसंकोच युद्धमा हाम फाल्ने विशेषता क. पासङमा थियो । युद्धमा जसरी पनि जीतको परिणाम निकाल्नुपर्छ भन्ने स्पिरिट थियो । त्यो मोर्चापछि लगत्तै मैनापोखरी मोर्चाको समीक्षा तत्कालीन लामीडाँडा गा.वि.स. को बजेनीमा भयो । त्यो समीक्षामा पनि क. पासाङको विश्लेषण उत्कृष्ट थियो । दुश्मनलाई कम आँक्नु । एसाल्टहरूको एक आपसमा तालमेल नमिल्नु । आक्रमण ढिला हुनु । अन्तिम रेक्की स्पष्ट नहुनु । र पूर्ण रूपमा चौकी कब्जा गर्न नसक्नु । एसाल्टमा नयाँ कमरेडहरूलाई एक्कासि सहभागी गराउनु । मुख्य कमजोरी रहेको भन्ने क. पासाङको मननयोग्य र पाठ सिक्न लायक अभिव्यक्तिले म धेरै प्रभावित भएको थिएँ । यो दूरदर्शि विश्लेषणले के कुराको पुष्टि गर्थ्यो भने कमी कमजोरीबाट पाठ सिक्दै आगामी मोर्चाहरू सफल पार्नुपर्छ भन्ने थियो । जनमुक्ति सेनाका कमरेडहरूले पनि क. पासाङलाई अति विश्वास गर्थे । छिट्टै नै जनमुक्ति सेनाको कमान्डर बन्ने आभास पनि मिल्थ्यो ।

मिलनसार र सबै कमरेडहरूसँग समान व्यबहार गर्ने क. पासाङ सबै कमरेडहरूको आँखाको नानी पनि थिए । त्यो बेलामा मैनापोखरी मोर्चाको समीक्षा भएपछि सैन्य शिविर पनि भयो । म सैन्य शिविरको व्यवस्थापनमा खटिएको थिएँ । त्यतिबेला नै क. पासाङ्सँग नजिकबाट चिनजान र सहकार्य गर्ने मौका पाएको थिएँ । भर्खरको लक्का जवान । वैचारिक रूपमा प्रखर । क्रान्तिकारी जोस । पहाड हल्लाउन सक्ने आवेग भएको क. पासाङ हरेक कुरामा अगाडि थिए । उनको प्राविधिक ज्ञानमा पनि निक्कै दखल थियो । टाईम बम, बुबिट्र्याप्स, माइन, टि.एन. टि. बनाउने कुरामा निकै सिपालु थिए ।

पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पनि हरहालतमा पूरा गर्ने क. पासाङको जन्म तत्कालीन श्यामा गा. वि. स. वडा नं ४ ( हाल जिरी नगरपालिका वडा नं १)  मा भएको थियो । बाबु आमाको दुई सन्तान मध्य क. पासाङ जेठो सन्तान थिए । उनले औपचारिक शिक्षा जिरी एपार्ड स्कुलमा हाँसिल गरेका थिए । विद्यार्थी संगठनमा बसेर पार्टीको काम गरे । र कलेज पढ्दापढ्दै जनयुद्धमा पूर्णकालिन भए । यसरी जनयुद्धको दौरानमा पनि उनले धेरै मोर्चाहरू लडेका थिए । धेरै धेरै एम्बुस र माईनिङ्हरू सफल पारेका थिए । जुनसुकै मोर्चामा पनि एसाल्ट सम्हालेर बहादुरिपूर्वक लडेका थिए । यसरी लडाइँहरू लड्दै जाने क्रममा २०५९ साल चैत २२ गते संखुवासभा जिल्लाको चैनपुर मोर्चामा लड्दा लड्दै उच्च शहादत प्राप्त गरे । तिनै वीर क्रान्तिकारी योद्धा क. पासाङप्रति भावपूर्ण श्रद्धाञ्जली !!

चुन बहादुर थामी ‘जनक’

   २१ फाल्गुन २०७७  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार