संस्मरण दोस्रो विश्वयुद्धका साहसिक योद्धा बुद्धिमान थामी (लाहुरे) आपा ! अलविदा !

डम्बर थामी ‘अनुपम’

संस्मरण:       
यतिखेर म निकै घोरिएको छु । आफैंभित्र सोहोरिएको छु । निकै निधार खुम्च्याएको छु । कता-कता मन पनि अमिलो भएको छ । केही स्मृतिहरू धमिलो भएको छ । तमतमिलो भएको छ । तन मन एकाएक भड्किलो भएको छ । जति सोच्दा पनि चित्त बुझेको छैन । के गरौं ? कसो गरौं ? भएको छ ।मलाई समयले निकै ठूलो छल गरेको भान भईरहेको छ । मलाई समयले निकै ठूलो सजाय पनि दिएको आभाष भईरहेको छ । एक साहसिक योद्धाको बारेमा उनको मृत्युपश्चात मात्र ज्ञात भएको छ । मैले हाम्रो (थामी) समुदायको एक अथक योद्धालाई जीवित हुँदा नै भेट्न र विश्वयुद्धका भलाकुसारीहरू गर्न पाईंन । युद्धानुभव सुन्न पाईंन । उनको मृत्युपर्यन्त मात्र यो दूर देशमा सामाजिक सन्जालको माध्यमबाट थाहा पाएँ । (हुन त मेरो विद्यार्थी जीवन पनि सुस्पा क्षमावती मा नै बितेको हो । पहरे गाउँ नजिकै रहेको माध्यमिक विद्यालयबाट एस.एल.सि. दिएको हुँ । आदरणीय दाजु भव बहादुर थामी दाजुको घरमा पनि कैयौं दिन बसेको हुँ । आफ्नै घर जस्तो लाग्थ्यो । तर नजिकै पहरे गाउँको कुरा अल्लारे उमेरमा कसरी थाहा पाउनु !) अनि हृदयमा हजारौं तर्कनाहरू खेलिरहे । आश्चर्य त के लागेको छ भने विश्वयुद्धमा पनि हाम्रो समुदायको सहभागिता रहेछ । सामन्ती शासकहरूले जङ्गली र कायरको दर्जामा राखेको हाम्रो समुदायले पनि विश्वयुद्ध लडेको अजम्बरी इतिहास रहेछ । उनै अजम्बरी योद्धाको बारेमा विस्तृत कुराहरू त पछि नै उल्लेख गर्नेछु । तर वीर योद्धाको श्रद्धाञ्जलीस्वरुप केही कुराहरू उजागर गर्न गईरहेछु ।

कालिन्चोकको काखमा रहेको बाक्लो थामी बस्ती । थामी जातिकै उत्पत्तिस्थल । पूर्खाले बसोबास गरेको ऐतिहासिक भूमि सुस्पा । साविक सुस्पा क्षमावती गा.वि.स. वडा नं ७, हाल (भिमेश्वर नगरपालिका वडा नं १) मा पर्ने पहरे भन्ने गाउँमा बि.स. १९७८ सालमा बुद्धिमान थामी (लाहुरे) को जन्म भएको थियो । गरिब परिवारमा जन्मेका बुद्धिमान थामीलाई आफ्नो बुबाको अलिअलि सम्झना मात्रै थियो । सानै उमेरमा टुहुरा बनेका बुद्धिमान थामीलाई उनको आमाले मेलापात, बनीबुतो गरेर हुर्काएकी थिईन । आफ्नो छोराले दु:ख नपाओस भन्ने उनकी आमाको उत्कट चाहना थियो । आमाको यस्तो चाहना हुँदाहुँदै पनि अभावग्रस्त जिन्दगी बिताउनु पर्दा उनलाई सानैदेखि नै पीडाबोध हुन्थ्यो र केही गर्छु भन्ने भावना जागृत भएको थियो । आमाले कतै नजानु भन्दाभन्दै पनि उनी साथीहरूको लहलहैमा लागेर साथीहरूसँगै दार्जिलिङतिर लागे । त्यतिबेला मोटर-गाडी थिएन । मोटरबाटो सडक केही पनि थिएन । महिनौंसम्म पैदल हिंडेर उनी दार्जिलिङ पुगेका रहेछन् ।

विदेश गएपछि त पैसाको बोट नै होला भन्ने लागेको रहेछ । तर त्यस्तो हुने सम्भावना नरहेपछि धेरै दिन भोकभोकै पनि बसेको तीतो अनुभूति थियो उनीसँग । यस्तो अवस्था भोग्नु पर्दा आमाले ” घर छोडेर नजा बाबु ” भनेको याद छातिमा गडेको रहेछ । अनि आमाले भनेको कुरा सम्झेर कयौंपटक धुरुधुरु रोएछन पनि । बल्लतल्ल साथीहरूसँगै होटलमा भाँडा माझ्ने काम पाएछन । थामीको छोरा भए पनि एक्लो छोरा थिए । दु:ख र अभावमा हुर्के पनि घरमा आमाले खासै काम नलगाउने गरेको हुनाले भाँडा माझ्ने काम निकै गार्‍हो भएछ । बरु म मर्छु तर भाँडा माझेर चाहिँ खाँदिन भनेर होटल छोडेर हिंडेछन । होटल त छोडे तर फेरि भोकभोकै पर्न थालेछन । नुहाउन नपाएको पनि धेरै दिन भएछ । शरीर डुङ्डुङ्ती गन्हाएछ । त्यही भएर उनी एउटा खोलामा नुहाउन गएछन । त्यो खोलामा तुईन चल्दोरहेछ । त्यहाँबाट साग सब्जी ओसारपसार हुने रहेछ । एक जना साहुले त्यहाँ सब्जीको भारी झारेर उनलाई बोलाएछन । दुई चार पैसा पाईएला कि भनेर बोक्न जाँदा भारी गह्रौं रहेछ । साथमा नाम्लो नभएकोले अर्कैले त्यो भारी बोकेर लगेछ । उनी हेरेको हेर्‍यै भएछन् । दुई चार पैसा आउला कि ? भन्ने बाटो पनि तत्कालको लागि टुटेछ । अनि फेरि त्यहीँ खोला किनारको ढुंगामा बसेर रुन लागेछन ।

त्यतिबेला एक जना अपरिचित मान्छे आएर ” किन रुन्छस ?  नरो ! बरु आर्मीमा भर्ती हुन हिंड ।” भनेछन । त्यो मान्छे युद्ध लड्ने । आर्मीमा भर्ती गराउने जवान खोज्ने गल्ला रहेछ । बुद्धिमान थामीले जवाफ दिएछन । ” लडाइँमा त मरिन्छ होला, जान्न ! ” भनेछन । फेरि उसले भनेछ ” के को मरिन्छ ! कि पैसाको रास ! कि हाडको रास हुन्छ । तँ  किन त्यसरी  डराउँछस ? ” भनेछ । उनलाई पनि भोकले सताएको बेला । काम नपाएको बेला ‘ ढुंगा खोज्दा देउता मिल्यो ‘ भने झैं भएछ । उनलाई लागेछ भोकभोकै मर्नु भन्दा त कम्तीमा लडेर त मर्न पाईन्छ । समस्या टार्नको लागि केही पैसा त पाईन्छ ! भन्ने लागेर उनी सेनामा भर्ती हुन तयार भएछन । अनि त्यो गल्लावालाले उनलाई होटलमा लगेर थुक्पा, म:म टन्न अघाउँजी खान दिएछन । त्यसपछि उनलाई ह्वाङ खोलामा नुहाउन लगाएछन । टन्न खाएर नुहाएपछि ज्यान पनि हल्का भएछ । ज्यान फूर्तिलो भएछ ।त्यसपछि उनलाई फेरि त्यो गल्लावालाले होटलमा लगेर मासु भात खुवाएछ । ” खान चाहिँ बेस्सरी खा है ! नभए तौल पुग्दैन ।” भनेछ । खानाको चिन्ता त रहेन । मरिन्छ भन्ने चिन्ताले सताएछ ।

त्यसपछि त्यो गल्लावालाले सेना भर्ती गर्ने क्याम्पमा  लिएर गएछ । उनी दौड र मेडिकलमा पास भएछन । जे होस छनौटमा पास भएर सेनामा भर्ती भएछन । कस्ता-कस्ता ठूला ज्यान भएका मान्छेहरू छनौट भएनछन । उनी सानो ज्यान भएको मान्छे चाहिँ पास भएछन । उनी भर्ती भएको सन १९४२ को  कुरा रहेछ । त्यतिबेला भीषण रुपमा शक्ति राष्ट्रहरू बीचमा भीषण युद्ध चलिरहेको थियो । जसलाई दोश्रो विश्वयुद्धको नाम दिईएको थियो । जताततै भयावह स्थिति थियो । एक देशले अर्को देशमाथि आक्रमण गर्ने क्रम जारी थियो । सेनामा भर्ती त भए । तर भर्ती भईसकेपछि पनि उनलाई बाँचिन्छ भन्ने चाहिँ लागेकै रहेनछ । भर्ती भईसकेपछि उनीहरूलाई तीन दिनसम्म दार्जिलिङ सैनिक ब्यारेकमा राखेछ । त्यसपछि रेलमा चढाएर सिलिगुडी पुर्‍याएछ । कहिल्यै गाडी पनि नचढेको मान्छे रेलमा चढ्दा उनलाई अनौठो लागेछ । रेलमा चढ्दा पनि आमाको झल्झली याद आएछ । सिलिगुडी पुगेर एक रात बसेपछि फेरि आसाम गोहाटी पुर्‍याएछ । त्यसपछि फेरि मणिपूर पुर्‍याएर छ महिना सैनिक तालीम दिएछ । सैनिक तालिम पनि कुशलतापूर्वक पास गरेछन ।एउटा सामान्य नागरिक जीवनबाट सैनिक जीवनमा प्रवेश गरेछन । अब्बल सैनिकको रूपमा दर्ज भएछन । पछि मात्र थाहा भएछ कि आसाम राईफल्समा भर्ती भएको कुरा । कठोर सैनिक तालीम । कठोर युद्ध ट्याक्टिस । पास गरेपछि मरिन्छ भन्ने कुरा पनि लाग्छ छोडेछ । तालीमले मान्छेलाई ईस्पात बनाउँछ भनेको यही हो ।

खास त त्यतिबेला दोश्रो विश्वयुद्धको दबदबा भएर नै नेपाली जवानहरूलाई सेनामा भर्ती गर्ने लहर चलेको थियो । तालिम सकिनासाथ बर्मामा जापानले आक्रमण गर्‍यो भन्ने खबर आएछ । तत्कालीन अवस्थामा जापानी साम्राज्यवादले चीन र दक्षिण पूर्वी एशियामा आफ्नो दबदबा कायम गर्न खोजेको थियो । त्यसपछि आसाम राईफल्सको टुकडीलाई ब्रीटिस गोरा साहेबको कमान्डमा बर्मा खटाएछन । गोरा साहेबको कमान्डमा जङ्गलै जङ्गल टोली मुभ भएछ । उनीहरूसँग नेपाल सरकारले अंग्रेजको तर्फबाट लड्न पठाएको काली बहादुर गण पनि रहेछ । महिनौं दिनसम्म हिंड्दा पनि दुश्मनसँग जम्काभेट भएनछ । जङ्गलै जङ्गल हिंड्दा हिंड्दा लखतरान भएछन । तर  दुश्मनको संभावित हमला चाहिँ यथावत नै थियो । जापानी सेनाले कतिबेला कहाँ आक्रमण गर्छ भन्ने त्रास थियो । तर पनि हतियार र फौज साथमा भएपछि ढुक्कता थियो । जाँदाजाँदै बाटैमा जापानी सेनाले बर्माको धेरै जसो भाग कब्जा गरिसक्यो भन्ने खबर आएको रहेछ । संसारभरि नै लडाइँको खबर मात्रै आईरहे पनि लडिन्छ भन्ने आँट आएछ । र डर पनि हराएछ । मन दर्‍हो भएछ ।

त्यसरी समय बित्दै जाँदा दुश्मनसँग लुकामारी खेल्दै जाँदा एक दिन चार बजेतिर बर्माको सिन नदीको वारिपट्टि पुगेछन । अनि सूचना आएछ कि दुश्मन (जापानी सेना) त्यही नदी तरेर आउँदैछन भनेर । त्यो सूचना आएपछि नदी किनारको जङ्गलमा पोजिशन लिएर बसेछन । नभन्दै घाम अस्ताउने बेलातिर जापानी सेनाहरू नाउ चढेर नदी नै ढाक्ने गरी आउन थालेछन । अनि गोराको कमान्डमा रहेको टोलीले फायरिङ गर्दै भीषण आक्रमण गरेछन् । उनीहरू अत्तालिएर चिच्याएर कोही भागेछन । कोही लास बनेर नदीमा बगेछन । एउटा मान्छे मर्दा पीर लाग्ने बुद्धिमान लाहुरेलाई त्यतिबेला त्यत्रो मान्छे मर्दा । नदीमा बग्दा पीर लागेनछ । युद्ध भनेको कस्तो चीज रहेछ ? भनेर आफैं आश्चर्यमा परेछन । त्यो लडाइँमा कति मरे एकिन गर्न पनि नसक्ने स्थिति थियो । तर दुश्मनलाई पराजित गर्दा चाहिँ धेरै खुशी लागेछ । उनको टोलीतर्फ भने कसैलाई केही भएनछ । त्यसपछि रात परेछ । फेरि जङ्गलकै बास । रासन पनि सकिएको अवस्था । दुश्मनले आक्रमण गर्ला भन्ने डर । रातभर पानी परेको रात । भोकभोकै पोजिशन लिँदै बसेको रातहरू सम्झेका रहेछन बुद्धिमान लाहुरेले । सेनाको जिन्दगी युद्धमा नै त बित्ने हो । त्यतिबेला जताततै मान्छेको लास । सडक, गल्ली, खोंच, भीर पाखा  जहाँ पनि दाउराको खलियो जस्तै लासको रास देखेका रहेछन बुद्धिमान लाहुरेले । आखिर युद्धमा हुने नै यस्तै हो । यसरी युद्ध लड्दै जाँदा बर्माको विभिन्न ठाउँहरूमा घुम्दै जाँदा सन १९४५ अगस्ट ६ मा जापानको हिरोशिमामा (लिटल व्वाई) र अगस्ट ९ मा नागाशाकीमा (फ्याटम्यान) भन्ने अमेरिकाले परमाणु बम खसालेपछि सम्पूर्ण जापानी सेनाहरू बर्मा छोडेर सन १९४५ अगस्ट १४ मा आत्मसमर्पण गर्दै आफ्नो देश लागेपछि बुद्धिमान लाहुरेको टोलीलाई पनि पल्टनले घरबिदा दिएछ । मर्ने मरिहाले तिमीहरु बाँचेकाहरू जाओ भनेर उनीहरूको कमान्डरले भनेपछि लादुकको एक जना तामाङ साथी र गाउँकै एक जना शेर्पा साथीसँग घर फर्केर आएछन ।

यसरी सन १९३९ सेप्टेम्बर १ देखि सन १९४५ मे ८ सम्म चलेको नरसंहारकारी दोश्रो विश्वयुद्धमा धेरै ठूलो (भयंकर) जनधनको क्षति भयो । लगभग ६ करोड मानिसको ज्यान गयो । त्यो विनाशकारी युद्धमा ७० देशका जल-थल-वायु सेनाले भाग लिएका थिए । नेपालको सन्दर्भमा नेपालले पत्यक्ष रूपमा विश्वयुद्धमा भाग नलिए पनि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले बहादुर शमसेरको नेतृत्वमा दुई लाख पचास हजार नेपाली सेना युद्धमा पठाएका थिए । नेपाली फौजले बेलायतको तर्फबाट लडेको थियो । मुख्य गरी जापानी र जर्मनी विरुद्ध लडेका थिए । नेपाली फौजले साईप्रस, ग्रीस, सिरिया, लेबनान, प्यस्लेस्टाईन, इराक, सिंगापुर, मलाया, तथा बर्मामा बहादुरिपूर्वक लडेका थिए । युद्धमा जम्मा सहभागी मध्य ७,५४४ नेपाली युवाहरू मारिए । २३,६५५ घाइते भएका थिए ।

यसरी यो भयानक दोश्रो विश्वयुद्ध लडेर कीर्तिमान राखेका बुद्धिमान थामी हाम्रो एउटा अविस्मरणीय अजम्बरी इतिहासका नायकको २०७७ साल चैत्र १८ गते स्वर्गारोहण भयो । एक अजम्बरी इतिहासप्रति हार्दिक श्रद्धाञ्जली । अलबिदा बुद्धिमान थामी (लाहुर्‍या) आपा !!!

०८ वैशाख २०८७, पराईभूमी ।

(नोट : मलाई वहाँको बारेमा असाध्यै कौतुहलता जागेर यतिसम्म खोजी गरेको हुँ । यसमा साप्ताहिक दोलखा पत्र वर्ष ४ अंक २, २०६८ वैशाख २३ गते नवराज शिवाकोटी ज्यूसँगको संवादमा आधारित आलेख र आर. सि. थामी ज्यू को युट्युब च्यानलको संक्षिप्त संवादमा आधारित रहेर यो लेख तयार पारेको हुँ । यो सामाग्री उपलब्ध गराईदिनु हुने थामी बुद्धिजीवी, समाजसेवी रामकाजी थामी दाजुप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । वहाँको बारेमा विस्तृत कुराहरू आगामी दिनहरूमा उजागर गर्ने प्रतिबद्धता पनि जाहेर गर्दछु । साप्ताहिक दोलखा पत्रप्रति नतमस्तक छु । भूल भएमा क्षमा चाहन्छु ।)

डम्बर थामी ‘अनुपम’:…

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार