कोरोना संक्रमणबाट आधा घण्टाभित्र विराटनगरमा तीन जनाको मृत्यु

 

काठमाडौ / विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित तीन जना पुुरुषको शनिबार बिहान मृत्यु भएको छ ।

तीनै जनाको मृत्यु आधा घण्टाभित्रमा भएको जनाएको छ । उपचारका लागि भर्ना भएका कोरोना सङ्क्रमित मध्ये एक जनाको हृदयघातका कारण ज्यान गएको हो।

विराटनगर महानगरपालिका वडा नं ३ का ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ः५० बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित पुरुषमा एक्कासि हृदयघातको समस्या पनि थपियो । अचानक हृदयघात भएपछि थप उपचार गर्न नपाउँदै मृत्यु भएको दाहालले बताए ।

मृतक पुरुषको कोसी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनी होम आइसोलेसनमा रहेका थिए ।

तर श्वासप्रश्वासमा अचानक समस्या भएपछि उपचारका लागि शुक्रबार बिहान ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो । ‘मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो कुनै समस्या नरहेको पाइएको छ,’ प्रबन्धक दाहालले भने, ‘कोरोना संक्रमणको उपचार जारी रहेका बेला हृदयघातको समस्या पनि थपिएपछि बचाउन सकिएन ।’

विराटनगरका पुरुषसँगै नोबेलको आइसोलेसनमा संक्रमित तीन जना पुरुषको शनिबार बिहान आधा घण्टाभित्रमा मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना प्रदेश १ को राजधानी विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन् । सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार