वडा सदस्यको शव बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु

 

काठमाडौं / बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका जीपचालक दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय तेजबहादुर बोहराको उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार