नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने विज्ञप्ति सहित।

 

बकाठमाडौं / बाँकेको कोहलपुरस्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने भएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ ।

नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी ३ सय शय्यासम्मको कोभिड अस्पताल तयार गरिएको भएपनि अक्सिजनको अभावमा १३५ शय्या मात्रै सञ्चालनमा ल्याउन सकेको जनाएको छ ।

‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौं,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महामारीको विषम परिस्थितिमा अक्सिजनको समस्या दर्शाउँदै आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरी अक्सिजन अभावका कारण अस्पतालमा ठूलो संकट आउन सक्ने जानकारी समेत गराइसकेको अस्पतालले स्पष्ट पारेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत कोरोना संक्रमित बिरामीको चाप हुने भएकाले कोरोनाका लागि हरेक पाँच दिनमा एउटा लिक्विड ट्याङ्क वा दैनिक आठ सय अक्सिजन सिलिन्डरको आवश्यकता पर्ने अस्पतालले बताएको छ ।

कोरोनाका बिरामीको उपचार गर्न यथाशीघ्र उक्त परिमाणको अक्सिजन उपलब्ध गराइदिन अस्पतालले सरकारसँग मागसमेत गरेको छ ।

अस्पतालमा हाल १३३ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार