नेपाली काङ्ग्रेस संग बुधबार भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको अर्को निर्वाचन हुनुपर्नेमा जोड।

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । उनले त्यसका लागि प्रमुख प्रतिपक्ष काङ्ग्रेस, प्रतिपक्ष जसपादेखि एमालेकै असन्तुष्ट रहेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका सांसदसँग व्यक्तिगत तवरमा विश्वासको मत मागिरहेका छन् ।

विश्वास दिने दल र सांसदका लागि आफूले के गर्न सकिन्छ भन्नेबारे विभिन्न ‘प्रस्ताव’ पनि भेटमा प्रस्तुत गरिरहेका दलका नेता र सांसदले बताउने गरेका छन् । विश्वासको मत लिने तयारी गर्दै प्रतिनिधिसभाको अधिवशनसमेत आह्वान गरेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको अर्को निर्वाचन हुनुपर्ने र त्यसका लागि आफूले के गर्ने हो त्यसका लागि तयार रहेको भन्ने कुरा दोहोर्याउन पनि छोडेका छैनन् । अहिलेको प्रतिनिधिसभा आफ्ना लागि सहज नभएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेका थिए ।

उक्त प्रस्तावअनुसार नै २ चरणमा निर्वाचन गर्ने गरी प्रतिनिधिसभा विघटन पनि गरियो । तर, प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र स्वीकृत गर्ने राष्ट्रपतिको कदमलाई सर्वोच्चले असंवैधानिक ठहर गरिदियो । फलस्वरुप प्रधानमन्त्रीले नरुचाइरहेको प्रतिनिधिसभा पुनःस्थापना भयो र चाहेको निर्वाचन खारेज भयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको निर्वाचनको कुरा गर्न भने छोडेका छैनन् ।

बुधबार प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले निर्वाचनको प्रस्ताव मात्रै गरेनन् बरु चुनावी सरकारमा आउन कांग्रेसलाई आग्रह नै गरेका छन् । झन्डै सवा २ घण्टा बुढानिलण्ठमा बिताएका प्रधानमन्त्री ओलीले वर्तमान प्रतिनिधिसभाको कार्यकाल अगावै निर्वाचनमा जोड दिएको छलफलमा सहभागी नेताहरूले बताएका छन् । बैठकमा सहभागी एमाले र कांग्रेसका नेताहरूले प्रधानमन्त्रीले आफू लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने स्पष्टीकरणमा समय खर्चिएका थिए । त्यसको ध्येय, वर्तमान प्रतिनिधिसभाको कार्यकाल अगावै अर्को निर्वाचनका लागि कांग्रेसलाई मनाउने प्रयास थियो ।

उनले आफूले लोकतन्त्रका लागि साह्रै दुःख गरेर आएको कुरा पनि दोहोर्याएका थिए । त्यसका साथै उनले प्रतिनिधिसभाको निर्वाचनमा जाने वातावरण बनाउन कांग्रेसका नेताहरूसँग आग्रह गरेका थिए । कांग्रेसका नेताहरूलाई प्रधानमन्त्री ओलीले भनेको कुरा उल्लेख गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई तपाईंहरू बाहिर रहेर चुनाव जित्दा तपाईंहरूको राम्रो हुन्छ भन्नुभयो । तर, मैले चुनाव गराउँछ भन्ने तपाईंहरूलाई विश्वास लागेन भने सरकारमा आउन सक्नुहहुन्छ ।’ ती नेताका अनुसार प्रधानमन्त्रीले कांग्रेसलाई आफ्नै सरकारमा सहभागी भएर निर्वाचन गराउन सकिने प्रस्ताव गरेका थिए ।

निर्वाचनको मिति घोषणा गर्नुपर्ने र त्यसमा आफूले एक दिन पनि तलमाथि नगर्ने प्रधानमन्त्रीले बचन दिएको नेताहरूले बताएका छन् । प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेसका नेताहरूले ओलीको ‘भनाई र गराई’मा भिन्नता रहेको जवाफ दिएका थिए । बैठकमा सहभागी कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतका अनुसार सरकारको नेतृत्व गरिरहेका एमालेका कृयाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमले सरकार लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध नदेखिएको भन्ने धारणा कांग्रेसका सभापति शेरबहादुर देउवाले राखेका थिए ।

लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन प्रधानमन्त्रीको तहबाट भूमिका ओलीले ननिभाएको तथा बोलीमा लोकतन्त्र शब्द दोहोर्याए पनि व्यवहारमा त्यो नदेखिएको जवाफ देउवाले दिएका थिए । सत्ता साझेदारी र विश्वासको मतका लागि प्रधानमन्त्रीले राखेको प्रस्तावमा कांग्रेसले दिएको जवाफबारे महतले भने, ‘हामी विपक्षी दलको हैसियतले सत्ता साझेदारी गर्न र विश्वासको मत दिने अवस्थामा छैनौं । तर, लोकतान्त्रिक मूल्य, मान्यतालाई सुदृढ गर्ने कुराको सवालमा व्यवहारमा देखिनुपर्यो ।

सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलापको आधारमा अहिलेसम्म समर्थन गर्ने अवस्था छैन भनेर हामीले भन्यौं ।’ कांग्रेसले लोकत्नत्र र निर्वाचनमा विषयमा आफ्ना धारणा राखेपछि प्रधानमन्त्री ओलीले आफ्नो ‘स्ट्यान्ड क्लियर’ रूपमा राखेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए । ‘केपी ओलीले चुनाव गराउँदैन । निरंकुशकता तानाशाहीतिर जान्छ भन्ने उहाँहरूको आशंका निवारण गराउनुभएको हो । तपाईंहरूलाई आश्वस्त तुल्याउन चाहन्छु कि निरन्तर लोकतन्त्रका लागि मैले दुःख गरेर अगाडि बढेको मान्छे हुँ भनेर प्रधानमन्त्रीले भन्नुभयो ।

यसमा अलिकति पनि यसमा प्रश्न उठ्न दिने छैन भन्ने उहाँको भनाइ थियो,’ नेम्वाङले भने । यसअघि घोषणा गरिएको निर्वाचन होस् कि भविष्यमा आफ्नो नेतृत्वमा हुने चुनाव होस् निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्नेमा प्रधानमन्त्रीले आश्वस्त पारेको नेम्वाङले बताए । साँझ ४ बजेदेखि सवा ६ बजेसम्म भएको छलफलमा प्रधानमन्त्रीले खासगरी आफूमाथि संसद्को विश्वास छैन, सरकार अल्पमतमा छ भन्नेजस्ता प्रश्न उठेकाले विश्वासको मत लिने निर्णय गरेकोबारे प्रतिपक्षी दललाई औपचारिक रूपमा जानकारी दिएको नेम्वाङको भनाइ थियो ।

‘प्रधानमन्त्रीले यसो गरिदिनुस्, उसो गरिदिनुस् भनेर भन्दैन तर मूल रूपमा अहिलेको अप्ठ्यारो अवस्थालाई निष्कर्षमा पुर्याउनका निम्ती निरंकुशताको विरुद्धमा सामूहिक रूपमा भूमिका खेलेका एमाले र कांग्रेसले एउटा साझा सोच बनाएर अघि बढ्नुपर्छ भन्दै आफ्ना कुरा राख्नुभयो,’ नेम्वाङले भने । जवाफमा कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीलाई विश्वास दिन नसकिने पार्टीको निर्णयबारे जानकारी गराएको नेताहरूले बताएका छन् । आजको कान्तिपुर दैनिकबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार