डम्बर थामी ‘अनुपम’ को कविता ” म्यानमार (बर्मा) बाट ” 

 

✍️ डम्बर थामी ‘अनुपम’

बर्मेली-गोर्खाली छातीहरु पनि

उठ्दैछन ज्वारभाटासरि बन्दुक बोकेर।।

कर्मसँगै बर्मा आएको पनि

वर्षौं बितेर गएछन

बितेछन अघिल्लो पुस्ताका पूर्वजहरु

बितेछन चक्र जस्तै घुम्ने अनेकौं ऋतुहरु

बितेछन चिसो अनि तातो यामहरु

तैपनि अझैसम्म अडिएरै बसेको छु

फेरि यो अभिशप्त पावन्दीमा

छातीमाथि ढुङ्गा राखेर

नियाल्दैछु फासिष्ट जुन्ता शासकको

बर्बर अत्याचार

हठात दमन, निरंकुश शैली

विरुद्धमा !

प्रजातन्त्रप्रेमी-न्यायप्रेमी जनसमुदायले

प्रजातन्त्र र स्वतन्त्रताको रक्षार्थ

जुन्ता सरकारले जबर्जस्त शासन हत्याएदेखि

ठूला-ठूला विद्रोह बोलिरहेछन

भर्भराउँदो आगो ओकलीरहेछन

बोलीमा बारुद घोलिरहेछन

तैपनि,

यहाँ निरन्तर घुमिरहन्छन यमदूतहरु

लिन्छन् दिनदहाडै सैयौं निर्दोषको ज्यान

बनाउँछन एकै चिहान

तर पनि यहाँका जनताले देशलाई शिरमा राखेर

पहाड जस्तै नडमगाई

उठाईरहेकाछन भीषण प्रतिरोधका मुस्लाहरु

प्रथम सहिद ‘ मा त्वे त्वे खाई ‘ को

रगतको बदला लिन

आफ्नै बाबुको काखमा गोली पिएकी

सात वर्षीया बालिका ‘खिन मायो चित ‘ लगायत

थुप्रै सहिदहरुको रगतको बदला लिन

खोसिएको प्रजातन्त्र उल्टै खोसेर लिन

प्रख्यात सुन्दरी ‘ तार  तेट तेट ‘ र कलाकारहरु पनि

बर्मेली-गोर्खाली छातीहरु पनि

उठ्दैछन ज्वारभाटासरि बन्दुक बोकेर

न्यायप्रेमी जन-जनले

जुन्ता सरकारका मान्छेहरुलाई

गाउँमा आउँदा पानी समेत बन्द गरेर

झोसिरहेछन कठोर प्रतिरोधको राँको

फूटाईरहेछन विद्रोहको ज्वालामुखी

उठाईरहेछन विद्रोहको लालझण्डा

✍️ डम्बर थामी ‘अनुपम’

१७ जेठ २०७८, पराईभूमी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार