गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

 

काठमाडौं / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । संविधानको धारा १६८ (५) बमोजिम नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल लाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख सिताकुमारी पौडेलले आज दिउँसो ३.०० बजे सम्मको समय तोकेर प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए । पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै नेपाली काङ्ग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेको समर्थनमा दावी पेश गरिएको थियो ।

नेकपा एमाले संसदीय दलका नेता तथा कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।गुरुङले जसपाको प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

गुरुङको मुख्यमन्त्री दाबीप्रति एमालेमै असन्तुष्टि भएको स्रोतले बताएको छ । माधवकुमार नेपाल समूहका इन्द्रलाल सापकोटासागै केपी ओली पक्षका महेन्द्र थकाली र रोशन थाहा मगरले पनि गुरुङको दाबीमा असन्तुष्टि जनाएका थिए ।

त्यस लगतै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार